काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका–५ सातदोबाटोस्थित सडकमा प्रदेश ३–०२–०१३ नम्बरको स्कुटर शुक्रबार बिहान अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री काठमाडौं बालाजु बस्ने दोलखा जिरी घर भएकी ७३ वर्षीया बिष्णु माया सुनारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार भक्तपुर सूर्यविनायक नगरपालिका–१० नलिन्चोक बस्ने २८ वर्षीय रोशन थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, केराबारी गाउँपालिका–८ जंगलस्थित सडकमा को.३४ प ९०६९ नम्बरको मोटरसाइकललाई को.१ त ५८४९ नम्बरको ट्याक्टरले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका–१० बस्ने ५० वर्षीय नरेश कुमार सोडारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।