बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

 प्रदेश २ को स्थायी राजधानी सर्लाहीमा: संयोजक साह

शुक्रबार, बैशाख १० २०७८

प्रदेश नंबर २ को स्थायी राजधानी सर्लाहीमा कायम गराउनका लागि विगत लामो समयदेखि हामी ध्यानाकर्षण, प्रेस विज्ञप्ति, धार्ना, सर्वदलीय एवं सर्वपक्षीय अन्तरक्रिया, संकल्प र्याली तथा संकल्प दीप प्रज्वलन लगायतका विविध रचनात्मक एवं शान्तिपूर्ण कार्यक्रमहरु गर्दै आएको सर्वविदित नै छ । आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेसंगै यसको ठोस एवं संस्थागत ढंगबाट अभ्यास गर्ने महत्वपूर्ण कडीको रुपमा रहेको प्रदेशहरुको स्थायी राजधानी तोक्ने सवालमा देशका ७  मध्य ६ प्रदेशले आ–आफ्नो स्थायी राजधानी तोकिसक्दा समेत प्रदेश २ सरकार आफ्नो स्थायी राजधानी र नाम समेत तोक्न हालसम्म असमर्थ रहनु पछौटेपनको आफैंमा एउटा भद्दा नमुना एवं हामी सारा प्रदेशवासीहरुको साझा अपमानको विषय हो ।

प्रदेश २ को भौगोलिक, आर्थिक, सामाजिक एवं राजनीतिक क्षेत्रको दुरगामी प्रभाव एवं महत्वलाई मध्यनजर÷आत्मसात गर्ने हो भने, प्रदेशको स्थायी राजधानीका लागी केहि विकल्पहरु छन, जसमध्य सर्लाही लगभग हरेक हिसाबले सर्वोत्तम विकल्प हो । प्रदेश नं. २ को पूर्वी जिल्ला सिरहा–सप्तरी र पश्चिमी जिल्ला बारा–पर्साको बिच/मध्य भूगोलमा अवस्थित सर्लाही एउटा पुरानो विरासत बोकेको स्थान हो । यो स्थान प्रदेशको अन्य स्थानको तुलनामा धार्मिक, भाषिक एवं सांस्कृतिक विविधताले  समेत भरिपुर्ण छ। यहाँ मधेशी, मुस्लिम, थारु, खस–बाहुन, क्षेत्री, दलित, मगर, तामाङ्ग लगायतका आदिवासी जनजातिहरुको समेत उल्लेख्य बाहुल्यता छ । समग्रमा हेर्दा यसलाई एउटा मिनी (सानो) नेपालको रुपमा लिन सकिन्छ। सामाजिक सद्भाव र शक्ति सन्तुलनको हिसाबले समेत यो स्थान स्थायी राजधानीको लागी उपयुक्त हो । 

प्रदेश नं. २ को पश्चिम भूगोलमा रहेको विरगंजलाई व्यापारिक तथा औद्योगिक केन्द्र, पूर्वी भूगोलमा रहेको जनकपुरलाई धार्मिक तथा पर्यटन केन्द्र र सर्लाहीलाई प्रदेश प्रशासनिक केन्द्रको रुपमा अगाडि बढाउन सके मात्र सबै प्रदेशवासीहरुको साझा जनभावनाको सही अर्थमा कदर हुनेछ । प्रदेश २ को प्रख्यात नगरी लालबन्दी–नवलपुर, हरिवन, बरहथवा, मलंगवा, तथा महोत्तरीको गौशाला र बर्दिबासको समीपमा रहेको ईश्वरपुर–बयलबाँस बृहत्तर नगरीमा प्रदेशको स्थायी राजधानी भएको खण्डमा सागरनाथ, राजारानी थुम्को, प्राकृतिक जलकेश्वर महादेव, कैलाशपुरी महादेव मन्दिर, मुर्तिया, सतिविहुला–जयाविषहर, नाढी ताल, टुटेश्वरनाथ लगायतका स्थानहरुलाई जोडेर मिनी पर्यटन सर्किट बनाउन सकियो भने, प्रदेश नंबर २ मा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रचुर सम्भावना बढेर जानेछ । जसबाट प्रदेश नं २ को साथसाथै सिङ्गो मुलुकको पनि चौतर्फि आर्थिक समृद्धि एवं विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने निश्चित छ ।

प्रदेश नंबर २ को स्थायी राजधानी सर्लाहीमा नै उपयुक्त हुने आधारहरुः–
१. प्रदेश नं. २ को बीच (मध्य) भू–भागमा अवस्थित,
२. पुर्व–पश्चीम राजमार्गसंग जोडिएको,
३. नव निर्माणको लागि मितव्ययी,
४. पुरानो संरचनाको क्षति गर्न‘नपर्ने,
५. उपयुक्त समतल सरकारी जग्गाको पर्याप्त उपलब्धता,
६. नेपाल सरकारको शहरी विकास मन्त्रालयबाट नयाँ शहर निर्माण भैरहेको,
७. भाषिक, धार्मिक तथा सांस्कृतिक पहिचानले भरिपुर्ण, 
८. निजी जग्गा अधिग्रहण गर्न‘पर्ने बाध्यता नरहेको,
९.  प्राकृतिक – वातावरण अनुकूल भएको,
१०. सामाजिक सद्भाव र शक्ति सन्तुलनले समेत उपयुक्त,
११.  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रचुर सम्भावना, 
१२.  समानुपातिक एवं सन्तुलित विकास कार्यमा सहयोग ,
१३.  राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट निर्माणको     प्रवल सम्भावना रहेको,
१४. सर्लाहीको प्रख्यात नगरी लालबन्दी, नवलपुर–हरिवन, बरहथवा, मलंगवा, हरिपुर्वा तथा महोतरीको गौशाला, र बर्दिबासको केन्द्र बिन्दुमा अवस्थीत रहेको,
१५.  विना कसैको हार सबैको जीतै – जीतकैं अवस्थामा स्थायी राजधानी विवाद अन्त्य,
१६. राजधानी निर्माणको नाममा सरकारी ढुकुटी लुट्ने एवम् भ्रस्टाचारको सम्भावना अति न्यून ।
सर्लाहीलाई प्रदेश प्रशाशनिक केन्द्र÷शहरको रुपमा अगाडी बढाउदा हाम्रो मात्र नभएर न्यायोचित र राम्रो समेत हुनेभएकोले यस महाअभियानमा तपाई सम्पूर्ण न्यायप्रेमी प्रदेशवासी आमजनता, प्रदेश सभा सदस्य, प्रदेश प्रमुख, प्रदेश सभामुख, मुख्यमन्त्री, मन्त्री, पत्रकार, बुद्धिजीवी, नेता, शिक्षक, युवा, विद्यार्थी मजदूर, किसान, व्यापारी लगायतका सबै सरोकारवाला व्यक्ति, संघसंस्था तथा निकायहरुलाई आ–आफ्नो स्थान र स्तरबाट ऐक्यबद्धता प्रकट गर्दै सक्रिय सहयोग, सद्भाव र सहभागिताका लागी विशेष हार्दिक अनुरोध गर्दछु । साथै, हाम्रो यस न्यायोचित मागलाई प्रदेश २ सरकारले कुनैपनि हिसाबले नजरअन्दाज समयमैं सम्बोधन नगरेको खण्डमा हामी कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने कुरा यसै प्रेस विज्ञप्ति मार्फत स्पष्ट गर्न चाहन्छु। धन्यवाद!

#हाम्रो_नाराहरुः
◆ सबै मिलि सर्लाहीमा स्थायी राजधानीको संकल्प गरौं ।
◆ प्रदेश २ को स्थायी राजधानीको लागी सर्लाही सर्वोत्तम विकल्प हो ।
◆ जागौं प्रदेशवासी जागौं ! सर्लाहीमा राजधानी मागौं !!
◆ East – West Sarlahi Is The Best.
◆ हाम्रो पनि सर्लाही ! राम्रो पनि सर्लाही ! !
◆ सर्लाहीमा प्रदेशको स्थायी राजधानी केवल हाम्रो माग मात्र नभई धर्तीको पुकार हो ।
◆ जागौं जनता जागौं ! सर्लाहीमा राजधानी मागौं !!