काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई फकाउन बुधबार र बिहीबार लामो छलफल गरे । तर ओलीले फकाउन सकेनन् ।
नेता नेपालले नेकपा एमाले पुरानै अवस्थामा फर्किनुपर्ने र नयाँ निर्णयहरू फिर्ता हुनुपर्ने माग राखे । तर ओलीले नयाँ निर्णय फिर्ता हुन नसक्ने अडान राखे ।
त्यसपछि नेता बामदेव गौतमलाई फकाउने कोसिस गरेका ओलीलाई अर्काे धक्का लाग्यो । नेता गौतमले पनि नेता नेपालले जस्तै एमाले पुरानै अवस्थामा फर्किनुपर्ने माग राखे । जसले गर्दा प्रधानमन्त्री ओली एक्लो परेका छन् ।
नेकपा एमालेका नेता बामदेव गौतमले फागुन २८ गतेको निर्णय फिर्ता नलिए ओलीसँग आउन नसक्ने स्पष्ट पारेका छन् । बिहीवार साँझ प्रधानमन्त्री ओलीले गौतमसँग डिनर वार्ता गरेका हुन् । अध्यक्ष ओलीले गौतमलाई पार्टी काममा फर्किनका आग्रह गरेका छन् ।
नेता गौतमले नेकपा एमालेका नाममा भएका अवैधानिक निर्णय फिर्ता नभएसम्म पार्टीमा फर्किन नसक्ने स्पष्ट पारेका गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । ओलीले पनि भइसकेका निर्णय फिर्ता नहुने जनाइसकेका छन् ।
‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ,’ गौतमको भनाई उदृत गर्दै संयोजक सुवेदीले जनाएका छन् ।