बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हालै निर्वाचित पत्रकार महासंघका सदस्य बलात्कार आरोपमा पक्राउ

शुक्रबार, बैशाख १० २०७८

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका एक सदस्य जवर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । महासंघ रुपन्देहीका नवनिर्वाचित कार्यसमिति सदस्य पुनहरी बेलबासे बलात्कारको आरोपमा शुक्रबार समातिएका हुन् । उनलाई जिल्ला अदालतले हिजो म्याद थपेको छ ।

भैरहवाको रविपथस्थित नेपाल एजुकेशनल ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका बेलबासेले आफ्नै इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई कोठामा बोलाएर जवर्जस्ती करणी गरेको अभियोग लागेको छ । युवतीले जवर्जस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हाे ।

रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बेलबासेलाई जवर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शु:ल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शु:ल्क नछाडेपछि जवर्जस्ती करणीको आरोप लगाएको दावी गरेको प्रहरीको भनाइ छ ।

बेलबासे आर्थिक बुलेटिन अनलाइन पत्रिकाका सम्पादक हुन् । उनी गत चैत २५ गते भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।