काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको मेरियट मिटिङलाई बुधबार आइसब्रेक भने पनि विहीबारको वार्ता प्रगति नभएपछि निराशा बढेको छ।
विवाद समाधानका विषयमा कुराकानी होइन अर्को बैठकको मिति समेत तय नभएपछि अब फेरि ओली–नेपाल विवादमा ‘आइस जमेको’ टिप्पणी गरिएको छ।
नेता नेपाल आफैं पनि निराश भएको बताउँछन्। उनले भनेका छन्,‘हिजो त आश थियो आज त त्यो पनि हरायो।’
अर्को बैठक कहिले हुन्छ भन्ने विषय पनि टुंगो नलागी प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरिएका थिए। ओली–नेपाल संवाद सुरु भएपछि एमाले कार्यकर्तामा हौसलाको संचार भएको थियो भने धेरै नेता सहमतिको पक्षमा उभिएका थिए।
विहीबार दिउँसो दुवै नेताले होटलको झ्यालबाट धरहरा चिहाएको तस्बिर सार्वजनिक भएपछि त एमालेको विवाद मिलेको दिशामा अघि बढेको भन्ने टिका टिप्पणी पनि भएका थिए। सामाजिक सञ्जालमा दुवै पक्षका नेता कार्यकर्ता हर्षित रुपमा टिप्पणीमा थिए। तर वार्तामा कुनै प्रगति नहुँदा लाखौं कार्यकर्ताले चाहेको एकता जोगाउने आश निराशामा बदलिएको छ।
त्यसो त एमालेमा कुनै प्रगति नभएपछि ओलीले भोलीका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्ष उपस्थित हुने या नहुने भन्ने विषयमा पनि टुंगो लागेको छैन। केन्द्रीय कमिटीको बैठकबाट नेपाल पक्षलाई कारबाही गर्ने तयारीमा ओली रहेका थिए।
यसैबीच एमालेभित्रको विवाद सर्वोच्च अदालतमा प्रवेश गरेको छ। नेपाल पक्षले ओलीले गरेको स्पष्टिकरण बद्दर गर्दै एमाले केन्द्रीय कमिटीको बैठक डाक्नका लागि अन्तरिम आदेशको माग गरी रिट दर्ता गराएको छ। आइतबार पेशीमा चढेको उक्त रिटको सुनुवाई गर्दै अदालतले पार्टीको आन्तरिक काममा पनि हस्तक्षेप गर्नेछ।