आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बालुवाटारमा तयार भयो माधव नेपालदेखि झाँक्रीसम्मलाई सोधिने स्पष्टिकरण पत्र

मंगलबार, बैशाख ७ २०७८

काठमाडौं ।  पार्टी नीतिविपरित चलेका कारण बरिष्ठ नेता माधवकुमार नेपालदेखि रामकुमारी झाँक्रीसम्मलाई सोधिने स्पष्टिकरणको पत्र तयार भएको छ ।  
स्पष्टिकरणका लागि संघीय संसदका २६ सदस्य रहेको बताइएको छ। एमालेमा रहेर समानान्तर गतिविधिमा संलग्न रहेको र माओवादी केन्द्रसँग साँठगाँठगरेका कारण कारबाही समेत गर्नेगरी पत्र तयार भइरहेको उच्च स्रोतले जानकारी दियो ।
झलनाथ खनाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी, नारायणप्रसाद खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भिम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने र लक्ष्मीकुमारी चौधरलाई पनि पत्र पठाउन लागिएको छ ।
हिजो बालुवाटारमा भएको बैठकमा नै कारबाहीका लागि नाम तयार पारिएको थियो। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितविपरित काम गर्नेलाई कारबाही गरिने प्रतिवेदनमार्फत नै भनेका थिए । 
नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साँठगाँठ र सत्ता गिराउने खेलका कारण तत्कालिन नेकपामा दरार आएको बताएका थिए। प्रतिवेदनमार्फतै उनले अहिले पनि एमालेका महत्वकांक्षी नेताको गतिविधिका कारण पार्टीमा समस्या भइरहेको र यसका लागि सुद्धिकरण गरिने बताएका थिए ।
सुद्धिकरणको पहिलो अभियानमा नै नेपाललगायतलाई स्पष्टिकरण, त्यसमा चित्त नबुझे सांसद पदबाट मुक्त गर्नेगरी एमाले अघि बढेको बालुवाटार स्रोतले जनकारी दिएको छ । 
उता ओलीको कारबाहीले केही पनि नहुने बताइरहेका नेपाल पक्षले भने अविश्वासको प्रस्ताव दर्ता भए फ्लोर क्रस गरी समर्थनको तयारी गरेको थियो। त्यसअघि नै उनीहरूलाई पदमुक्त गर्ने प्रक्रियामा ओली लागेका हुन् ।