काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा आफुले गरेका काम देखाउन लागि अहिले शिलान्यास मात्रै होइन उद्घाटनमा पनि तिब्रता दिएका छन् । उनको यो हुटहुटीले देशलाई भने राम्रै गरेको छ । किनभने निर्माणको अन्तिम चरणमा रहेका आयोजनालाई उनले नै प्रत्यक्ष रुपमा तिब्रता दिन लगाएका छन् ।
दोलखामा निर्माणाधिन अवस्थामा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना अब सकिने क्रममा छ । यो आयोजना ढिलाई हुनुको प्रमुख कारण भने भारतीय ट्याक्सम्याका कम्पनी हो । जसका बारेमा प्रधानमन्त्रीले ३ वर्ष अघि नै थाहा पाएका थिए ।
पछिल्लो समय दलहरु बिच अहिले सरकार परिवर्तनका प्रयासहरु भएका छन् । नयाँ सरकार बन्ने सहमति नभएकाले अहिलेसम्म नेकपा माओबादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । अर्काे सरकार बन्ने सहमति भएपछि अबिश्वासको प्रस्ताव लिएर सरकार ढालिने छ । अब अर्काे पटक चुनाव जित्नका लागि केपी ओली नेर्तत्वको सरकारलाई बिभिन्न काम सकेको देखाउनुपर्ने छ । जसका कारण नै पछिल्लो समय धरहरा देखि माथिल्लो तामाकोसी आयोजनाले समेत काममा तिब्रता पाएको छ ।
केहि दिन अघि प्रधानमन्त्रीले तामाकोसीमा ढिलाई क्षम्य नहुने बताए । अर्थात निर्माण सकिन लाग्दा उनले यो आयोजनामा दबाब दिएर काम सकेको देखाउन चाहन्छन् ।
के छ त प्रगति आयोजनामा ?
यो आयोजनाले जेठ २ गतेबाट विद्युत उत्पादन थाल्ने भएको छ । ६ वटा युनिटमध्ये ७६ मेगावाटको एउटा युनिट बाट जेठ र अन्य बाँकि छ वटा युनिटबाट आउँदो साउनसम्ममा बिद्युत उत्पादन थाल्ने आयोजनाको तयारी छ ।
विद्युत उत्पादनका लागि आगामी बैशाख १२ गतेबाट ड्याममा पानी भर्न सुरु गर्ने र बिस्तारै सुरुङमा पानी पठाइने भएको छ । २० गतेसम्ममा सुरुङ र पेनस्टक पाइपमा पानी पठाउँदा समस्या भएको वा नभएको जानकारी हुनेछ ।
त्यसपछि बैशाख अन्तिमसम्ममा टर्वाइन घुमाएर हेर्ने र जेठ देखि नियमित उत्पादन थालिने भएको छ ।
तर अझैपनि ट्याक्सम्याकाले पेनस्टक पाइपका लागि ल्याउनुपर्ने भल्भ भने ल्याइसकेको छैन । नेपाल भारत सिमामा आइसकेको भारतीय कम्पनी ट्याक्सम्याकाले जनाएकोछ । पेनस्टक पाइपमा भल्भ जडान र पेनस्टकमै पनि केहि ओल्डीङको काम बाँकि छ ।
पेनस्टक पाइप जडान र भल्भ जडान बैशाख १० सम्ममा सकिने बिद्युत प्राधिकरण बताउँछ ।
किन भयो ढिलाई ?
२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।
भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर लगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।