काठमाडौं। १५ बर्षको दौरानमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारत सरकारले अहिलेसम्मकै सम्मान र मान्यता दिएको छ। विहीबार नयाँ दिल्ली हुँदै शुक्रबार हरिद्वार पुगेका ज्ञानेन्द्रका लागि केन्द्र सरकारको विशेष सुरक्षा टोली छ भने उत्तर प्रदेश र उत्तराखण्ड सरकारले पनि अलग सुरक्षा सुविधा दिएका छन्।
१२ बर्षमा लाग्ने कुम्भमेलाका लागि शाही स्नान गर्न ज्ञानेन्द्रलाई विशेष निम्तो थियो। सोही निम्तोलाई मान्नका लागि उनी भारत पुगेका हुन्। यस क्रममा उनको भव्य स्वागतका निम्ति भारतकै उच्च तथा विशेष मानिने केदारनाथका पिठाधिस पनि ज्ञानेन्द्र र उनकी पत्नी पूर्वरानी कोमल शाहको स्वागतका लागि आउने बताइएको छ।
सोमबार हुने शाही स्नानका क्रममा पूर्वराजालाई नेपाली राष्ट्रिय झन्डासहित शाही रथमा आरोहण गराउने तयारी उत्तर प्रदेश सरकार तथा केदारनाथ पिठको व्यवस्थानले तयारी गरेको छ।
हिन्दू धर्ममा भगवानका अवतारका रुपमा मानिने राजा भएका कारण ज्ञानेन्द्रलाई यो तहको सुरक्षासहितको सम्मान दिन लागिएको हो। उनी सबैभन्दा अगाडि शाही स्नान गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा पनि बढी उनलाई सम्मान दिइएको हो।
विभिन्न धार्मिक संगठन, मोदी समेतले काम गरेको राष्ट्रिय स्वयम सेवक दलले पनि पूर्वराजालाई यो तहको मान सम्मान दिएको हो।
यता, पूर्वराजा ज्ञानेन्द्रले हिन्दूत्व जोगाउनका लागि उच्च तहका राजनीतिक भेट गर्नेछन्। उनलाई भेट गर्नका लागि भाजपाका उच्च तहका नेता हरिद्वार पुग्ने भएका हुन्।
उत्तराखण्डका मुख्यमन्त्री तिर्थसिंह रावत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भाजपाका प्रवक्ताहरु, महासचिवहरुले पूर्वराजासँग घनिभूत रुपमा राजनीतिक विषयमा कुराकानी गर्नेछन्।
रावत, आदित्यनाथलगायत मोदीका विशेष निकटवर्ती मानिन्छन्। भारतीय संस्थापनले पूर्वराजालाई दिएको यो सम्मानलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ। नेपालमा राजनीतिक उतारचढाव भएका बेला भारतीय संस्थापनको यो सम्मानलाई नेपालमा राजतन्त्रको पुनरागमन हुने अर्थमा पनि बुझिएको बताइन्छ।