काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा बोर्डमा प्राप्त गुनासा सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सोमबार बिज्ञप्ती जारी गर्दे उक्त कुरा बताएको हो ।
बोर्डका अनुसार सो सम्बन्धमा बोर्डले यही चैत १८ गते सो सम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको थियो । धितोपत्र बजारले यही चैत १९ गतेको पत्र मार्फत् अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना प्रकाशन अघि नै अर्थात यही चैत १६ गते भएको धितोपत्र कारोबारमा १० प्रतिसतले वृद्धि भई सर्किट लागेको भनि सो कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गरेको छ ।
यसै सन्दर्भमा उल्लेखित कारोबारका सम्बन्धमा थप अध्ययन÷अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले बोर्डका निर्देशकको संयोजकत्वमा सोमबार एक उप–समिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको बोर्डले जनाएको छ । यस सम्बन्धमा कुनै भित्री कारोवार भएको पाइएमा नियमानुसार कारवाही अगाडि बढाउने तयारी समेत बोर्डले गरेको छ । साथै धितोपत्र बजारका स्थापित मूल्य, मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न समेत बोर्डले आग्रह गरेको छ ।