काठमाडौं– साना मिडियाबाट उठ्ने, बामे सर्ने र दौडमा सहभागी हुने पात्र हुन्, बिनोदप्रसाद चौलागाईँ।
पत्रकारिता क्षेत्रमा डेढ दशकसम्म विभिन्न आरोह र अवरोहलाई छिचोलेर अघि बढेका उनी श्रमको मूल्यलाई जसरी पनि कार्यान्वयनका गर्नुपर्छ भन्ने प्रणमा थिए र छन्।
आवाजले मात्र होइन, अब नेतृत्वका हिसाबमा पनि पेशागत हकका लागि अघि बढ्नुपर्छ भन्ने मान्यता राख्ने उनी यस पटक नेपाल पत्रकार महासंघको उपत्यका पदका उम्मेदवार हुन्।
उनी भन्छन्,‘बाध्यताले उम्मेदवारी दिएको होइन, मलाई त श्रमजीविको पक्षमा वकालत गर्ने लत लागेको छ। त्यो लतका लागि मैले उम्मेदवारी दिएको हुँ।’
नेपाल पत्रकार महासंघ पेशागत श्रम गर्नेको भन्दा पनि पत्रकारिता नगर्ने तर डिंगा हाँक्नेका लागि मात्र भएको उनको ठहर छ। अबको नेतृत्व तहमा संघर्ष गरेका मानिस नै आउनुपर्ने बताउने उनी भन्छन्,‘हालसम्म हामीले राजनीतिक व्यक्ति देख्यौं, महासंघमा नेता हुने अनि पछि राजनीतिक दलमा छिर्ने। यो बेला त्यो होइन अब श्रम गर्ने र नेतृत्वमा आउने श्रमकै लागि वकालत गर्ने मान्छे चाहिन्छ भन्ने मानक स्थापित गर्नुछ।’
चौलागाईँको यो भनाईका पछि उनले राजधानीमा पत्रकारिताका दौरान भोगेका कठिनाईका कथा नेपथ्यमा छन्। उनी त्यसलाई भँजाउने वा विस्तार गर्ने पक्षमा छैनन् तर यत्तिचाहिँ भन्छन्,‘कर्म गर्ने मानिस नै नेतृत्वमा पुग्नुपर्छ, त्यसले मात्र पेशाको रक्षार्थ बोल्न सक्छ, स्वार्थकासामु झुक्दैन।’
राजनीतिमा जसरी शुद्धिकरणका कुरा चल्छन् असल र श्रमजीवि आए पत्रकारितामा पनि पक्कै शुद्धिकरण हुने विश्वास उनलाई छ। उनी जोड्छन्,‘यो मलाई मत दिनुहोस् भन्ने प्रक्रियाका लागि मात्र होइन, यस्ता मानिस मध्येको म पनि एक हुँ भन्नेमा पर्छु।’