आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कतै रोजगारी नपाए मात्रै शिक्षक हुन्छन् : मन्त्री श्रेष्ठ

बिहिबार, चैत्र १९ २०७७

काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेसाप्रति अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन्।  बुधबार काठमाडौंमा आयोजित सिकाइ आदान–प्रदान तथा आगामी कार्यदिशासम्बन्धी राष्ट्रिय परामर्शशालामा मन्त्री श्रेष्ठले शिक्षण पेसाप्रति अरुचिका कारण सरकारी विद्यालयहरुको पढाइ कमजोर भएको बताए।

कुनै पनि व्यक्तिले आफ्नो पढाइ सकिएपछि अन्त कतै रोजगारी नपाए मात्रै शिक्षक पेसा रोज्ने प्रवृतिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको उनले बताए।

उनले शिक्षक पेसामा आउनेहरु पनि अन्यत्र जागिर पाउनेबित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्यमाथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताए। राम्रोसँग पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहीँ कतै जागिर नपाएपछि मात्रै शिक्षण पेसा रोज्ने गरिएको उनले बताए। 

शिक्षण पेसामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजीमा हुने र जुन दिन अन्त जागिर पाइन्छ फुत्तै छोडेर हिँडिदिनाले शिक्षण पेसाप्रति मानिसको आकर्षण घटेको उनको भनाइ थियो। 

‘त्यो स्कुलको बच्चाको भविष्यबारे चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरु मुलुकका भविष्यका कर्णधार हुन्, त्यसबारे हामी कति गम्भीर बन्छौं र चिन्तित बन्छौैं?’ उनले प्रश्न गरे। 

विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रुपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, आर्थिक रुपमा विपन्न, दलित वर्गले मात्रै पढ्न आउने गरेको उनको भनाइ थियो। सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस् भन्नेतर्फ सचेत रहेको पनि मन्त्री श्रेष्ठले बताए।