बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु   

बुधबार, चैत्र ११ २०७७

काठमाडौं ।  तनहुँ, सिरहा र दाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित खाली जग्गामा रहेको मोटर ग्यारेजमा पार्किङ गर्ने क्रममा ना.५ ख ४८०० नम्बरको बसको ठक्करबाट हाल नाम, थर, वतन, नखुलेका करिब २२ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ । बसका सहचालकले बस पार्किङ गर्ने क्रममा ती पुरुषलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
तनहुँको ब्यास नगरपालिका–५ सिर्दीस्थित सडकमा ग.८ प ६६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५१ वर्षीय टिकाराम क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार शुक्ला गण्डकी–४ दुलैगौडा बस्ने ४९ वर्षीय सुर्य सुबेदीलाई सोही अस्पताल हुँदै फेवासिटी अस्पताल पोखरा पठाइएको छ ।
सिरहा, नरहा गाउँपालिका–२ पानबारीस्थित सडकमा स.६ प ९१५१ र स.८ प २२५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स.६ प ९१५१ नम्बरको मोटरसाइकलका चालक   बिष्णुपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय दिपु पासवान र स.८ प २२५० नम्बरको मोटरसाइकलमा सवार गोलबजार बस्ने २५ वर्षीय गुरुदेव महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै घाइते भएका स.६ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार २ जनाको विराटनगर नर्सिंङहोम र  स.८ प २२५० नम्बरको मोटरसाइकलमा सवार १ जनाको नर्सिंङहोम लाहानमा उपचार भइरहेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ स्थित सडकमा रा.१ क ४३३ नम्बरको ज्ञान ज्योती बोर्डीङ स्कुलको बस पल्टिदा बसमा सवार सोही उपमहानगरपालिका–१६ बस्ने १९ वर्षीया सन्जना केसीको मंगलबार बिहान मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको प्रादेशिक अस्पताल तुलसिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई उपचारका लागि कोहलपुर बाँके पठाइएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।