काठमाडौं । बाराको निजगढ नगरपालिका–९ बुद्ध चोक बस्ने १८ वर्षीय कालु भनिने रोहित शर्मा आफ्नै घरमा मंगलबार बिहान घाँटी रेटीएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटि गएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।
अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा दैलेख आठबिसकोट नगरपालका–३ बस्ने मान सिंह बडुवालकी १५ वर्षीया छोरी कल्पना बडुवाल र ११ वर्षीया छोरी सरिता बडुवाल सोमबार मृत अबस्थामा फेला परेका छन् । माछा मार्नको लागि नदीमा थापेको पासोमा उनीहरूको शव अल्झिएको अवस्थामा फेला परेको हो । मान सिंह, उनकी श्रीमती ३५ वर्षीय सुकी बडुवाल र २ जना छोरी समेत फागुन २३ गते दिउँसोबाट हराएकोमा खोजी गर्नेक्रममा उनीहरूको शव फेला परेको हो । अन्य ३ जनाको खोजी भइरहेको छ ।
पाल्पाको तानसेन नगरपालिका–७ कमलपोखरीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।