काठमाडौं । झापाको कनकाई नगरपालिका–४ स्थित सडकमा को.१ क १६८४ नम्बरको ट्रक, प्र.१–०१–००१ च ०१६७ नम्बरको कार र प्र.१–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कार चालक सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २८ वर्षीय दिपक क्षेत्री र कारमा सवार सोलुखुम्बु, खुम्बुपासाङ गाउँपालिका–१ बस्ने ३० वर्षीय दिलिप रानामगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बिर्तामोडस्थित बीएण्डसी अस्पतालामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार र मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको थाक्रे गाउँपालिका–८ स्थित सडकमा नवलपरासी कावासोती नगरपालिकाको लु.१ झ ३८२ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री कालिकोट नरहरी नगरपालिका–८ बस्ने ४१ वर्षीय दिपेश पुनको बुधाबर साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सडकमा प्र १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय अजित चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकोका उनको स्थानीय मेडिकल हुँदै नोबेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।