काठमाडौं । कुखुराको अण्डा र मासुको उत्पादन गर्ने किसानहरु खासै उभो लाग्न सकेका छैनन् । त्यसमाथि पनि साना खालका किसानहरु त लगानी गरेर नाफा कमाउनुको साटो ऋणमा डुब्नु पर्ने बाध्यता छ । तर यसका ब्यापारीहरु भने मालामाल भएको देखिन्छ ।
। एउटा किसानले सरदर १० रुपैयाँमा अण्डा उत्पादन गर्छ । जसको भाउँ डेढ महिनासम्म प्रतिगोटा १२ रुपैयाँ भएपनि अहिले १० रुपैयामै झरेको छ । थोक पसल सम्म ११ रुपैयाँ ६६ पैसामा आउने यस्तो अण्डा खुद्रा बिक्रेताले भने १५ रुपैयाँसम्म लिएर बेच्ने गरेका छन् ।
त्यसैले अण्डा उत्पादकहरुले सधैभन्दा पनि मौकामा मात्रै कमाउनुपर्ने स्थिती छ । अझ महामारीका बेलामा त अण्डा उत्पादकले प्रतिगोटा ४ रुपैयाँसम्म क्षति ब्यहोर्नुपरेको थियो
देश कुखुरा तथा अण्डामा आत्मनिर्भर रहेको दाबताइन्छ । तर सानो खालको लगानी गरेर अण्डा उत्पादन गर्ने र ब्रोइलर कुखुरा पाल्नेहरु कैयन अहिले व्यवसायबाटै पलयान हुनुपर्ने स्थिती छ ।
एक अण्डा उत्पादन गर्ने व्यवसायीले सुरुमा चल्ला खरिद गर्न प्रतिगोटा १ सय रुपैयाँ देखि १ सय ६० रुपैयाँ तिर्नुपर्छ । जसलाई ६० रुपैयाँ प्रतिकेजीमा खरिद गरेको दाना खुवाएको १ सय ३० दिनबाट बल्ल अण्डा उत्पादन गर्न सुरु गर्छ र यसले सरदर ३ सय ४० वटा अण्डा उत्पादन गर्छ
यता कुखुराको मासु उत्पादन गर्नेहरुले एक केजी मासु उत्पादन गर्न २ सय १५ रुपैैयाँ खर्चनु पर्छ, मासु भने अहिले २ सय १० देखि २० रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री हुन्छ । दानाको मूल्य केहि सस्तो भएको लकडाउनका समयमा त प्रतिकेजी १ सय ९० रुपैयाँमा उत्पादन गरेको ब्रोइल प्रतिकेजी ८० रुपैयाँसम्म बेच्नुपर्याे ।
छिमेकी देश भारत जहाँ कृषकहरुले दानामा २५ प्रतिशत अनुदान दिने गर्छ । त्यस्तै बिजुली पनि सस्तोमा दिने मात्रै हैन , घरमा भन्दा पहिला कृषि क्षेत्रमा बिद्युत जडान गर्ने रणनीति अपनाएको छ । खुला सिमाका कारण आउने कुखुराका कारण पनि यहाँका किसानहरु मारमा परेका छन् ।
बाख्रा पालन , कुखुरा जस्ता क्षेत्रमा व्यवसायिक रुपमा पालन गर्ने किसानले दिगो रुपमा व्यवसाय संभव भएपनि बिउ उत्पादनमा भने कृषकहरुले लाभ लिन नसकको देखिन्छ । यता आधुनिक तरिकाले फलफुल र तरकारी खेती गर्ने हो भने केहि लाभ लिन सकिने बिज्ञहरु बताउँछन् ।
बिज्ञहरुका अनुसार एक हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा कृषकले एक वर्षमा जम्मा २० हजार रुपैयाँ मात्रै प्रतिफल पाउन सक्छ । उत्पादकत्व बढाउन सरकारले खास ध्यान नदिएका कारण ४० वर्ष अघिसम्म धान निर्यात गर्ने राज्यले एक वर्षमा नै ८ अर्ब ८८ करोडको धान आयात गर्ने गरेको छ । त्यस्तै खाद्य सुरक्षाका हिसाबले दोस्रो स्थानमा रहेको मकै खेती गर्नेहरुले एक रुपैयाँ लगानी गरेर एक रुपैयाँ १ पैसा कमाएको देखिन्छ ।
त्यस्तै गहु र कोेदोमा १ रुपैयाँ लगानी गरेर एक रुपैयाँ, आलुमा एक रुपैयाँ लगानी गरेर एक रुपैयाँ तिन पैसा गोलभेडामा एक रुपैयाँ लगानी गरेर शुन्य दशमलव ३६ पैसा मात्रै आम्दानी भएको निष्कर्ष छ । राज्यले कृषि क्षेत्रलाई संरक्षण गर्ने नीति ल्याउन नसक्नु र खुला सिमाका कारण भारतीय बजारबाट प्रवेश हुने कृषि जन्य उत्पादनका कारण यहाँका कृषकहरुले लाभ लिन नसकेको किसानहरु बताउँछन् ।