काठमाडौं । तेल तथा घ्यू र माछामासुको मूल्यमा भारी बृद्धि भएको छ । अस्वाभाविक मूल्यबृद्धि हुँदा पनि सरकार भने मौन बसेको छ ।
२०७७ पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत रहेको थियो । समग्रमा अघिल्लो वर्षको तुलनामा धेरै महंगी बढेको नदेखिएपनि तेलको भाउमा भने भारी बृद्धि भएको छ ।
पुस महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९९ प्रतिशत रहेको छ ।
गत वर्षको पुसको तुलनामा २०७७ पुसमा घ्यू तथा तेल १७.०१ प्रतिशतले बढेको छ । फलफूल, दाल तथा गेडागुडी १६.५८ प्रतिशत र मासु तथा माछा उपसमुहको मूल्यवृद्धि १०.६८ प्रतिशत रहेको छ ।
पुस महिनासम्म काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ पुसमा यी क्षेत्रहरुमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७७ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो ।
उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ६.२८ प्रतिशत, ६.६५ प्रतिशत र ३.२० प्रतिशत रहेको छ ।