काठमाडौं। नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्यले पदभार सम्हालेका छन्।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको थियो।
लोडसेडिङ हटाएर वाहवाही कमाएका कुलमान घिसिङको बहिर्गमनपछि शाक्यको नियुक्ति भएको हो। शाक्यले प्राधिकरणको निमित्त, कायमुकायम हुँदै पूर्ण जिम्मेवारी पाएका हुन्।
प्राधिकरणको सभाहलमा आइतबार आयोजित कार्यक्रममा हितेन्द्रले पदभार ग्रहण गरे। उनले सम्बोधनको अन्तिमतिर यस अघिका प्रबन्ध निर्देशकहरुको योगदानलाइ स्मरण गर्दै फोटोहरूतिर हेरे।
त्यहाँ लहरै यसअघिका १६ जना प्रमुखहरुको फोटो टाँसिएको थियो। उनले कुलमानको फोटोलाई देखाउँदै उक्त फोटो अरुभन्दा फरक भन्दै मिलाउन आग्रह गरेका थिए।
उनले अरुभन्दा फरक साइजको भएको र नसुहाएको भन्दै कर्मचारीलाई मिलाउन भनेका हुन्। त्यो फोटो अलिक फरक फ्रेम र साइजमा अरुभन्दा अलि सानो देखिन्थ्यो।
शाक्यले विद्युतको माग बढाउनुपर्ने चुनौती रहेको बताए। माग बढाउन नसकिए प्राधिकरणले आर्थिक रुपमा समस्यामा पर्ने उनको भनाइ थियो।
डोमोस्टिक माग विस्तारै बढ्ने भएकाले औद्योगिक मागलाई ध्यानमा दिनुपर्ने बताएका उनले त्यसपछि बाँकी रहेको विद्युत बेच्ने योजना सुनाए। उनका अनुसार ६ हजार मेगावाटको पीपीए भइसकेको छ।
१० हजारभन्दा बढी मेगावाटका आयोजनाहरु लाइसेन्स पाएर पाइपलाइनमा बसेका छन्। प्रसारणलाइन सोही अनुसारको बनाउन नसक्दा चुनौती थपिएको छ। अहिले ७२ जिल्लामा नेशनल ग्रिड पुगिसकेको छ।
यो वर्ष ३ वटा जिल्ला र अर्को वर्ष दुई वटा गर्दै राष्ट्रिय प्रसारण ७७ जिल्लामै पुर्याउने प्राधिकरणको लक्ष्य छ। त्यसैगरी प्रसारणलाइन निर्माण, सवस्टेशन निर्माण र अपग्रेड गर्दै लैजाने योजना उनले सुनाए।
ट्रान्समिसन लाइन निर्माणका लागि टास्क फोर्स बनाएको र सोही अनुसार काम अघि बढाउन लागिएको उनले बताए। आगामी पाँच वर्षको विद्युत खपतलाई ध्यान दिएर सोही अनुसारको पूर्वाधार निर्माण थालिएको भनाइ उनले राखे।
प्राधिकरणलाई विद्युत चुहावट घटाउनुपर्ने चुनौती छ। अहिले चुहावट बढेर १८ प्रतिशत पुगेको छ। त्यसलाई १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ।
कर्मचारी व्यवस्थापनका लागि मेकानिज्म बनाउन लागिएको उनले बताए। त्यसका लागि सफ्टवेयर सिस्टम बनाउन लागिएको छ। सफ्टवेयरले मूल्यांकन गरेर कसलाई कहाँ सरुवा गर्ने नियम अनुसार जानकारी दिनेछ।