आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

 ४५ वर्षको शंकरप्रसादको मृत्यु

आइतबार, माघ २५ २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा शंकरप्रसाद नामको ४५ बर्षको हात्तीको मृत्यु भएको छ ।

निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार माघ २१ गते बिरामी परेर उपचार थालिएको सो हात्तीको माघ २२ गते मृत्यु भएको हो ।

शंकरप्रसाद निकुञ्जको लामिचौर पोष्टमा रहेर निकुञ्जको सुरक्षामा खटिएको थियो ।

हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार मृत हात्तीको पूजापाठ गरेर अन्त्येष्टि गरिएको छ ।

चालु आर्थिक बर्षमा चितवन राष्ट्रिय निकुञ्जको ५ वटा घरपालुवा हात्तीको मृत्यु भएको छ ।

निकुञ्जका चिकित्सक डा। विजय श्रेष्ठका अनुसार हात्तीको मृत्यु सानो आन्द्रा गाँठो परेर भएको हो ।

उनले भने, ‘हामीले पोष्टमार्टम गरेर हेर्दा सानो आन्द्रो हावा पनि पास नहुने गरी गाँठो परेको रहेछ, रगत सप्लाई पनि थिएन, बचाउन प्रयास गरे पनि सकिएन ।’

उनले मान्छेमा पनि कहिलेकाँही यस्तो समस्या आउने बताए ।

‘मान्छेलाई भए तत्कालै अप्रेसन गरेर बनाउन सकिन्छ तर हात्तीमा त्यो सम्भावना भएन, भिडियो एक्सरे मेसिनले पनि भेट्दैन, डा श्रेष्ठले भने, ‘पोष्ट पनि टाढा थियो, अझै १५ बर्ष बाँच्ने हात्ती हो, दुःख लागेको छ ।’