काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धामा उत्रनेछन् ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा छ । तीन खेल खेलेको लुम्बिनीले दुई खेलमा जित हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ ।
यता, जनकपुर बोल्ट्स चार खेलबाट दुई जित र दुई हारसहित तालिकाको चौथो स्थानमा रहेको छ । जनकपुर आजको खेल जित्दै आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ ।
त्यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।
विराटनगर चार खेलबाट दुई जित र दुई हारसहित अंक तालिकाको दोस्रो स्थानमा छ । काठमाडौं गोर्खाज भने दुई खेलबाट एक जित र एक हारसहित सातौँ स्थानमा रहेको छ ।
आजका दुवै खेल अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने दृष्टिले टोलीहरूका लागि महत्त्वपूर्ण हुनेछन् ।