काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस, कोशी र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।