काठमाडौं । भेस्पा तथा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले भक्तपुरको घलाते चोकमा सुविधासम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकको बढ्दो रुचि र सहज सेवालाई ध्यानमा राख्दै कम्पनीले देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
नयाँ शोरुमबाट ग्राहकले कम्पनीका अन्य शोरुमसरह बिक्री, सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्नेछन् । शोरुममा कम्पनीले हालै नेपाली बजारमा ल्याएको १७५ सीसीको अप्रिलिया एसआर १७५ सहित भेस्पा र अप्रिलियाका सम्पूर्ण मोडल उपलब्ध छन् ।
विशेषगरी नयाँ भेस्पाका दुई आकर्षक कलर ‘लाइल्याक’ र ‘गोल्डेन ओरो’ समेत शोरुममा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । अप्रिलिया एसआर १७५ लाई शक्तिशाली, स्टाइलिस र उत्कृष्ट पर्फर्मेन्सयुक्त स्कुटरका रूपमा कम्पनीले बजारमा प्रस्तुत गरेको छ । नयाँ शोरुमको सुरुवातसँगै ग्राहकलाई लक्षित गर्दै कम्पनीले दशैं अफरसमेत सार्वजनिक गरेको छ । अफरअन्तर्गत भेस्पा वा अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा पक्का उपहारका रूपमा अनर एक्स फाइभ प्ले स्मार्टवाच प्राप्त गर्न सक्नेछन् । त्यस्तै, एक्सचेञ्जमा २५ हजार रुपैयाँसम्मको क्यासब्याक तथा नागरिकताको आधारमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नयाँ शोरुम उद्घाटनका अवसरमा डेल्टा अटोकर्पका डाइरेक्टर तथा सीईओ विजय महतोले भेस्पा र अप्रिलियाको प्रतिष्ठित इटालियन विरासतलाई भक्तपुरसम्म ल्याउन पाउनु महत्वपूर्ण अवसर भएको बताए । “कला, संस्कृति र हस्तकलाको समृद्ध विरासत बोकेको भक्तपुर यी दुई प्रतिष्ठित ब्रान्डका लागि स्वाभाविक गन्तव्य बनेको छ । नयाँ शोरुममार्फत यहाँका ग्राहकलाई इटालियन डिजाइन, उत्कृष्टता र पर्फर्मेन्सको नयाँ अनुभव प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं,” महतोले भने ।
त्यस्तै, डेल्टा अटोकर्पका डाइरेक्टर केतन भिमसारियाले भक्तपुरको सम्पदा र संस्कृतिसँग भेस्पा तथा अप्रिलियाको इटालियन पहिचानलाई जोड्न पाउनु खुसीको विषय भएको बताए । नयाँ शोरुममार्फत भक्तपुरका ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्दै अघि बढ्ने उनले बताए ।