काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सम्मानीत नेता झलनाथ खनालले पार्टी परित्याग गरेको भन्ने समाचारप्रति सत्यता नभएको बताएका छन् ।
नेता खनाललाई उद्धृत गर्दै स्वकीय सचिव कृष्ण भट्टराईले दिएको जानकारी अनुसार पार्टी परितयाग गरी समाजवादी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको भन्ने किसिमका समाचारमा सत्यता छैन् ।
‘सोमबारको कार्यक्रम नेपाल न्यूज बैंकलगायतका संचारमाध्यमहरुले प्रत्यक्ष प्रशारण पनि गरेका थिए । उहाँले मन्तब्य राख्नेक्रममा कहींपनि पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छैन् । समाचार तयार गर्दा प्राविधिक त्रुटि भएजस्तोलाग्यो,’ भट्टराईले भने,‘भिडियो लाइभमा सबै स्पष्ट छ ।’
यसअघि खनालले पार्टी परित्याग गरेको भन्दै प्रसारित समाचारमा प्राविधिक तथा लेखन त्रुटि भएको थियो ।
भिडियो सामग्रीमा तथ्य सही रूपमा प्रस्तुत भए पनि समाचारको लेखनमा ‘पार्टीबाट अलग’ भन्ने उल्लेख हुन गएकोमा क्षमाप्रार्थी सहित समाचार सच्याइएको छ ।
खनालले बृहत् वाम एकता र कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले ‘समाजवादी जागरण अभियान’को औपचारिक सुरुवात गरेका हुन् ।
अभियान घोषणा गरे पनि आफूले पार्टी भने नछोडेको खनालले बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा खनालका स्वकीय सचिव भट्टराईले पनि खनाल पार्टीमै रहेको र पार्टी परित्याग नगरेको स्पष्ट पारेका हुन् ।