सुर्खेत । हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेपछि लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भएको छ । सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।
नाम्खा गाउँपालिका–५ को न्यालु र वडा नं ६ को नारा लेक हुँदै लिमी प्रवेश गर्ने सडकमा साढे तीन फिटभन्दा बढी हिउँ जमेको छ । असोजको पहिलो सातादेखि नै लिमीको आवागमन बन्द भएपछि स्थानीयवासीलाई अत्यावश्यक कामका लागि समेत बाहिर जान समस्या भएको लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
उनका अनुसार लिमीमा कोही बिरामी परे वा अन्य अत्यावश्यक कामका लागि बाहिर जानुपरे हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ । दसैँ–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई समेत घर फर्किन समस्या भएको उनले बताए ।
लिमीको आवागमन बन्द, हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता
वडाध्यक्ष तामाङले न्यालु र नारा लेकमा जमेको हिउँ पन्छाएर सडक सञ्चालन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । सडक सञ्चालन नहुँदा लिमीका स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ ।
लिमी प्रवेश गर्ने प्रमुख नाकामध्ये पाँच हजार मिटर अग्लो न्यालु लेक पनि एक हो। सडक अवरुद्ध भएपछि लिमीका तिल गाउँका १८, हल्जीका ९०, जाङका तीन र तुम्लिङका ११ जना होटल व्यवसायी प्रभावित भएका छन्। ताक्चीमा पनि दुईवटा होटल सञ्चालनमा छन् ।
तीन फिट हिउँमा सुनखानी प्रहरी चौकी, पानी र रासनको समस्या
हिमपातका कारण लिमीको सुनखानीमा स्थापना गरिएको प्रहरी चौकीमा कार्यरत प्रहरीसमेत समस्यामा परेका छन्। तीन दिन लगातार भएको हिमपातपछि चौकी आसपास करिब तीन फिट हिउँ जमेको छ । दाउरा नपाउँदा खाना पकाउन र धारामा पानी जमेकाले खानेपानीको व्यवस्था गर्न समस्या भएको वडाध्यक्ष तामाङले बताए ।
आवश्यक दाउरा र खाद्यान्न हल्जी गाउँबाट बोकेर ल्याउने गरिएको छ। सडकमा हिउँ जमेकाले रासन तथा अन्य सामग्रीसमेत पैदलै बोकेर चौकीसम्म पु¥याउनुपर्ने अवस्था छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले पछिल्लो अवस्थाको बारेमा बुझेर मात्र जानकारी दिइने बताए । हल्जी गाउँमा फोरजी सेवा सञ्चालनमा रहेकाले सुनखानीका प्रहरी दिनमा एक पटक पैदल हिँडेर हल्जी पुग्ने र त्यहाँबाट आवश्यक सूचना आदानप्रदान गर्ने गरेका छन् । सुनखानी प्रहरी चौकीबाट हल्जी पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ । हाल सुनखानी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकसहित १० जना प्रहरी कार्यरत छन् ।
नारा लेकको हिउँ पन्छाउन जेसिबी आवश्यक
चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेकाले हिल्सा–सिमकोट सडक खण्ड पनि अवरुद्ध भएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटाले जेसिबी प्रयोग नगरी सडकमा जमेको हिउँ पन्छाउन सम्भव नभएको बताए ।
हिल्सास्थित मानसरोवर होटलकी सञ्चालक पेमा लामाले नारा लेकको हिउँ पन्छाएर यातायात सेवा सञ्चालन गर्न हिल्सा–सिमकोट सडक योजनासँग माग गर्नुभएको छ। हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालय, अध्यागमन कार्यालयका कर्मचारी, होटल व्यवसायी तथा केही स्थानीय व्यापारी बस्दै आएका छन् ।
स्थानीयका अनुसार यस वर्ष विगत १५ वर्षयताकै पहिलो पटक हिल्सामा असोज १० गतेदेखि हिमपात भएको हो । यसअघि हिल्सामा कात्तिकपछि मात्रै बाक्लो हिमपात हुने गरेको उनीहरूको भनाइ छ । मौसममा आएको परिवर्तनका कारण यस वर्ष चाँडै हिमपात भएको स्थानीयको अनुमान छ ।
दसैँ–तिहार नजिकिँदै गर्दा सडक सञ्चालन नहुँदा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई घर फर्किनसमेत समस्या भएको छ । स्थानीयवासीले लिमी र हिल्साको सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
हेमन्तत केसी, नेपाल न्यूज बैंक