काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले धनबहादुर काफ्लेलाई महासंघअन्तर्गतको व्यापार समितिको आमन्त्रित सदस्यमा मनोनित गरेको छ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले हस्ताक्षर गरेको पत्रमार्फत काफ्लेलाई समितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको जानकारी दिइएको हो।
महासंघका कार्यकारी समिति सदस्य नवीन रिजालको सभापतित्वमा गठित व्यापार समितिको कामलाई थप प्रभावकारी बनाउन काफ्लेलाई आमन्त्रित सदस्यका रूपमा मनोनित गरिएको पत्रमा उल्लेख छ।
महासंघका अनुसार समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, व्यापार सहजीकरण तथा व्यापार क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि पहल गर्नेछ।
त्यस्तै, व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने र व्यापार विस्तारका लागि आवश्यक नीतिगत सुझाव तयार पार्ने समितिको उद्देश्य रहेको महासंघले जनाएको छ।
महासंघले काफ्लेको अनुभव, ज्ञान र सक्रिय सहभागिताबाट व्यापार क्षेत्रको विकास तथा व्यवसायीको हित संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।