मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३

सुधारिएका कानून प्रभावकारी रूपमा लागू भए लगानी बढ्छ : चन्द्रप्रसाद ढकाल

सोमबार, असोज १९ २०८३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधारका लागि परिमार्जन गरिएका कानून प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

नेपाल पूर्वाधार सम्मेलनको तयारीका क्रममा राजधानीमा आयोजित ‘लगानी र विकासका लागि कानून सुधार’ विषयक तीनदिने परामर्श कार्यशालालाई सम्बोधन गर्दै ढकालले कानून सुधारसँगै त्यसको प्रभावकारी कार्यान्वयन हुन सके स्वदेशी तथा विदेशी लगानी बढ्ने बताएका हुन् ।

उनले लगानी विस्तारसँगै रोजगारी सिर्जना, राजस्व वृद्धि र आर्थिक गतिविधि विस्तारमा समेत सुधार आउने बताए । महासंघको अध्यक्ष हुँदा नेपालको लगानी प्रवर्द्धनसम्बन्धी कानून पुराना र परम्परागत रहेको भन्दै सुधारका लागि उच्चस्तरीय आयोग वा सुझाव संयन्त्र गठन गर्न आफूहरूले प्रस्ताव अघि सारेको उनले स्मरण गरे ।

त्यसकै निरन्तरताका रूपमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको र निजी क्षेत्रको प्रतिनिधिका रूपमा आफूले आयोगको सदस्य भएर काम गरेको उनले बताए । कतिपय नयाँ कानून निर्माण भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

ढकालले वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक गरेको सयबुँदे निर्णयमध्ये अधिकांश निजी क्षेत्रले दिएका सुझावका आधारमा अघि बढाइएको भए पनि धेरै निर्णय अझै कार्यान्वयन हुन बाँकी रहेको बताए ।

“अहिले पनि कतिपय विद्यमान कानून राम्रा छन् । तर त्यसको कार्यान्वयन कानूनको स्पिरिट र सरकार, प्रधानमन्त्री तथा आम नागरिकको अपेक्षाअनुसार भइरहेको छैन,” उनले भने ।

उनका अनुसार कानून निर्माण मात्रै पर्याप्त हुँदैन । लगानीकर्ताले कानूनी व्यवस्था व्यवहारमा कस्तो रूपमा लागू भइरहेको छ भन्ने कुरालाई प्राथमिकताका साथ हेर्ने भएकाले सुधारिएका कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।

ढकालले आवश्यक कानूनी सुधार अध्यादेशमार्फत भए पनि जतिसक्दो छिटो अघि बढाउन सरकारलाई आग्रह गरे । अब कानून निर्माणसँगै त्यसको कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने तथा आर्थिक गतिविधि विस्तार गर्ने विषयमा निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले बताए ।

स्वदेशी लगानीकर्ताले गर्ने लगानी र उनीहरूले दिने सन्देशले विदेशी लगानीकर्तालाई समेत प्रभाव पार्ने ढकालले बताए । विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्नुअघि स्वदेशी लगानीकर्ताले के गरिरहेका छन् र उनीहरूले नेपालबारे कस्तो सन्देश दिइरहेका छन् भन्ने विषयलाई समेत हेर्ने गरेको उनले उल्लेख गरे ।

ढकालले हालै प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूसँगको भेटमा पनि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र आवश्यक सुधारका विषयमा आफूले सुझाव दिएको जानकारी दिए । अब प्राप्त सुझावका आधारमा कानून सुधार र त्यसको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।