शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

शुक्रबार, भाद्र २६ २०८३

सोलुखुम्बु  । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सीमाबाट बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

आज बिहान करिब ७ बजे खसेको पहिरोले खोला थुनिएर करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए। पहिरो खस्ने क्रम नरोकिएकाले खोलामा जम्मा भएको पानीको मात्रा निरन्तर बढिरहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार खोलाको माथिल्लो भागबाट ठूलो पहिरो खसेपछि करिब १६ मिटर उचाइ र १०० मिटर फराकिलो ड्यामजस्तो अवस्था बनेको हो। पहिरो खस्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको उनले बताए ।

हुङ्गा खोला दुधकोशी नदीमा मिसिने भएकाले पहिरोका कारण बनेको अस्थायी तालको पानी एक्कासि बाहिरिएमा तल्लो तटीय क्षेत्रमा असर पर्नसक्ने प्रशासनले जनाएको छ।

सोलुखुम्बुसँगै दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने ओखलढुङ्गा र खोटाङका बासिन्दालाई समेत सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी थापामगरले बताए ।

महाकुलुङ गाउँपालिकाले खोला थुनिएको जानकारी पाएपछि घटनास्थलतर्फ स्काभेटर पठाएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए। घटनास्थलको अवस्था बुझेर आवश्यक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट पहल भइरहेको उनले बताए ।

हुङ्गा खोला तथा आसपासका क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन छन्। स्थानीय प्रशासनले खोला तथा नदी आसपासका बासिन्दालाई सचेत रहन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ।