काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
मंगलबार साँझ अचानक तीव्र चक्कर लाग्ने र वान्ता भएपछि उहाँलाई उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।
डा. भट्टराईका स्वकीय सचिव रेखी गुरुङका अनुसार उहाँ चिकित्सकहरूको निगरानीमा उपचाररत हुनुहुन्छ र स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको भित्री कान (इनर इयर) मा समस्या देखिएको छ। सचिवालयले जारी गरेको जानकारीअनुसार आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट भने सामान्य रहेका छन्।