विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा भएको घटनापछि विकसित परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार बैठक आज दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्ने तय भएको छ।
बैठकमा सुरक्षा निकायका प्रतिनिधि, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहनेछ।
प्रदेश सरकारले बैठकमा सुनसरी घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा समन्वयात्मक पहलका विषयमा छलफल गर्ने जनाएको छ। साथै, प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउने र आवश्यक निर्णयमार्फत परिस्थितिलाई सामान्य बनाउन रणनीति तय गर्ने तयारी रहेको बताइएको छ।