काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा देखिएको पछिल्लो असहज परिस्थितिलाई सामान्य बनाउँदै सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्ने विषयमा सबै राजनीतिक दल एकमत रहेको बताएका छन्।
बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो घटनाक्रमबारे साझा धारणा निर्माण गर्न शीर्ष राजनीतिक दलहरूबीच गम्भीर र सकारात्मक छलफल भएको जानकारी दिए ।
सरकारको भूमिका र जिम्मेवारीबारे उठिरहेका प्रश्नका सम्बन्धमा उनले सर्वदलीय बैठकको उद्देश्य सरकारमाथि दबाब सिर्जना गर्नु नभई राजनीतिक दलहरूको साझा दृष्टिकोण तयार पारेर सरकारको ध्यानाकर्षण गराउनु रहेको स्पष्ट पारे।
सुनसरीलगायतका जिल्लामा हालै भएका प्रदर्शन र दुई युवकको मृत्यु भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक हुनुपर्नेमा जोड दिए ।
उनले नागरिकको ज्यान जानु अत्यन्त संवेदनशील विषय भएकाले घटनाको जिम्मेवारीबारे सुरक्षा निकायले स्पष्ट जवाफ दिनुपर्ने बताए। साथै, अनुसन्धान पूरा नहुँदै अफवाह वा अपुष्ट सूचनाका आधारमा निष्कर्षमा पुग्न नहुने धारणा पनि व्यक्त गरे ।
लामिछानेले कुनै पनि परिस्थितिमा साम्प्रदायिक सद्भाव खलबलिने, समुदायबीच घृणा फैलिने वा हिंसात्मक गतिविधि बढ्ने अवस्था मुलुकका लागि घातक हुने उल्लेख गर्दै यस्ता विषयमा सबै राजनीतिक दल एउटै धारमा उभिनुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार सामाजिक सद्भाव, शान्ति र संयमताका लागि सबै राजनीतिक दलको तर्फबाट छिट्टै संयुक्त अपिल सार्वजनिक गर्ने तयारी भइरहेको छ।
विगतका आन्दोलनसँग वर्तमान अवस्थाको तुलना गर्दै उहाँले अहिलेको सबैभन्दा ठूलो प्राथमिकता शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्नु भएको बताए। आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा जिम्मेवारीपूर्ण, संयमित र सहकार्यको भावनाका साथ अघि बढ्न उनले सबै पक्षलाई आग्रह गरे ।