काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। तर, सरकारकै नेतृत्वकर्ता दलले आयोजना गरेको उक्त बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ भने सहभागी भएका छैनन्।
रास्वपाका सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक बोलाएका हुन् ।
सुनसरी घटनामा एक जनाको मृत्यु भएपछि सरकारको भूमिकामाथि विभिन्न राजनीतिक दल र सर्वसाधारणबाट प्रश्न उठिरहेका छन्। तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शनसमेत जारी रहेका बेला त्यसै विषयमा केन्द्रित बैठकमा सरकारका मुख्य जिम्मेवार मन्त्रीहरूको अनुपस्थिति अर्थपूर्ण रूपमा हेरिएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका अध्यक्ष आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरी घटनापछि सिर्जना भएको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम राख्ने, सम्भावित तनाव र द्वेष न्यूनीकरण गर्ने तथा शान्ति–सुरक्षाको वातावरण सुदृढ बनाउन राजनीतिक दलहरूबाट संयुक्त सन्देश प्रवाह गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।
उनले प्रशासनिक निकायले सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रयास गरिरहेका बेला राजनीतिक नेतृत्वबाट पनि संयम, सहकार्य र सामाजिक सद्भावको स्पष्ट सन्देश जान आवश्यक रहेको बताएका छन् ।