झापा । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्रका अनुसार सोमबारसम्म जिल्लाको करिब ८८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार दमक नगरपालिका र कमल गाउँपालिकामा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि अन्य स्थानीय तहमा पनि तीव्र गतिमा रोपाइँ भइरहेको छ। गौरीगञ्ज गाउँपालिकामा भने हालसम्म सबैभन्दा कम, ७५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ।
झापामा सामान्यतया असारको पहिलो सातादेखि धान रोपाइँ सुरु हुने र साउनको अन्तिमसम्म जारी रहने गर्छ। असार १५ देखि साउन १५ गतेसम्मको अवधिलाई मुख्य रोपाइँको समय मानिन्छ।
यस वर्ष मनसुन समय–समयमा सक्रिय रहँदा पर्याप्त वर्षा भएकाले किसानले सहज रूपमा खेत तयारी र रोपाइँ गर्न पाएका छन्। अनुकूल मौसमका कारण रोपाइँको गति विगतका वर्षको तुलनामा सन्तोषजनक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
झापा जिल्लामा वार्षिक रूपमा करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि अधिकारीहरूले बाँकी क्षेत्रमा पनि केही दिनभित्र रोपाइँ सम्पन्न हुने अपेक्षा गरेका छन्।