चितवन । न्यूनस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चितवनका चार उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो।
कार्यालयका अनुसार पूर्वी चितवनको रत्ननगरस्थित रिजाल फुड्स एण्ड बेभरेज विरुद्ध दुई वटा मुद्दा दर्ता गरिएको छ। उद्योगले उत्पादन गरेको दालमोठ र नमकिन मिक्सचर (दालमोठ) गुणस्तरहीन भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
त्यसैगरी, खैरहनीस्थित ओमकार आयल इन्डष्ट्रिज ले आयातित तोरीको गेडाबाट उत्पादन गरेको तोरीको तेल गुणस्तर मापदण्डअनुसार नभेटिएपछि मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी सूचना अधिकारी वन्दना पन्तले जानकारी दिइन्।
यस्तै, भरतपुरस्थित नौलो फुड्स इन्डष्ट्रिज ले उत्पादन गरेको सिटिसी चिया असला तथा रत्ननगरस्थित आचार्य फुड उद्योग ले उत्पादन गरेको चुक अमिलो पनि गुणस्तरहीन पाइएपछि ती उद्योगविरुद्ध समेत एक–एक मुद्दा दर्ता गरिएको छ।
डिभिजन कार्यालयका अनुसार गत आर्थिक वर्षमा खाद्य स्वच्छता सुनिश्चित गर्न विभिन्न क्षेत्रमा व्यापक अनुगमन गरिएको थियो। सो अवधिमा १० पटक आकस्मिक खाद्य स्वच्छता अनुगमन, ९२ पटक खाद्य बजार अनुगमन, २० पटक दाना बजार अनुगमन तथा ६३ पटक होटल तथा रेष्टुराँ अनुगमन गरिएको छ।
त्यसैगरी, ८७ वटा खाद्य उद्योग र २२ वटा दाना उद्योगको निरीक्षण गरिएको कार्यालयले जनाएको छ। साथै, चार पटक हाटबजार तथा मेला–महोत्सव, ११ पटक आहार पूरक खाद्यपदार्थ तथा आठ पटक विद्यालय र अस्पतालका क्यान्टिनको अनुगमन गरिएको थियो।
कार्यालयले खाद्य सुरक्षाबारे सचेतना अभिवृद्धिका लागि सरोकारवालासँग अन्तरक्रिया, तालिम तथा अन्य जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।