मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

लमजुङमा पहिरोले घर पुरिँदा बुबा–छोरीको मृत्यु, दुई जना घाइते

मंगलबार, साउन १२ २०८३

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा आज बिहान पहिरोले घर पुरिँदा एकै परिवारका बुबा–छोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय भोर्लेटारका अनुसार घरमाथि रहेको नगरकुलो भत्किएपछि आएको पहिरोले धन्सारसहितको दुईतले कच्ची घर पुरिँदा ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा टिकबहादुरकी श्रीमती सुकमाया विक र जेठी छोरी अस्मिता विक घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको थियो। पहिरोले घरमा ठूलो क्षति पुर्‍याएको छ।

घटनापछि प्रहरी र स्थानीयवासी उद्धार तथा क्षतिको विवरण संकलनमा जुटेका छन्।