मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

गुणस्तरीय नियमनमार्फत पुँजीबजार सुधार गर्न अर्थमन्त्री वाग्लेको जोड

मंगलबार, साउन १२ २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्।

सोमबार बोर्डको स्थलगत निरीक्षणका क्रममा अर्थमन्त्री वाग्लेले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए। उनले नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ काम अघि बढाएको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले नेपाल धितोपत्र बोर्डको भूमिका नेपाल राष्ट्र बैंकजत्तिकै महत्वपूर्ण रहेको बताउँदै कानुन निर्माण र नियमनका क्रममा सबै सरोकारवालासँग व्यापक परामर्श गरी साझा बुझाइका आधारमा अघि बढ्नुपर्ने धारणा राखे। साथै, लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै पुँजीबजारलाई अझ विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पुँजीबजार विकासका लागि दीर्घकालीन ‘ब्लुप्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। उनका अनुसार चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित विभिन्न नीतिगत व्यवस्था तयार गरिनेछ।

अध्यक्ष भट्टले आइपिओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका यही महिनाभित्र तयार गरिने र सरोकारवालासँग आवश्यक परामर्शपछि ती व्यवस्थाहरू क्रमशः कार्यान्वयनमा ल्याइने बताए।

अर्थ मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षण गर्दै पुँजीबजार सुधारका आगामी योजना र नियामकीय तयारीबारे जानकारी लिएको थियो।