काठमाडौँ । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक र रूपान्तरणकारी उपलब्धि भएको बताए। उनले यो आयोजना केवल पूर्वाधार निर्माणमा सीमित नभई नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे।
उनका अनुसार सुरुङको योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना पनि सुरु गरिएको छ। यस परियोजनाले भविष्यमा नेपालमा सुरुङ पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक क्षमता विस्तार गर्ने विश्वास उनले व्यक्त गरे।
नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको स्मरण गर्दै तानाकाले नागढुङ्गा सुरुङ दुई देशबीचको विश्वास, सम्मान र दीर्घकालीन मित्रताको प्रतीक भएको बताए।
नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडीए), नेपाली प्राविधिक र श्रमिकहरूको मेहनतका कारण परियोजना सफलतापूर्वक सम्पन्न भएको बताए। उनले यस आयोजनाबाट हस्तान्तरण भएको प्रविधि, सीप र सुरक्षा मापदण्डले नेपालको आगामी सुरुङ तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकका कारण यात्रुहरूले सास्ती भोग्दै आएको उल्लेख गरे। सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने र ट्राफिक जाम तथा दुर्घटनाको जोखिम कम हुने उनले बताए।
उनका अनुसार जापानी र नेपाली इन्जिनियरहरूको संयुक्त प्रयासले भौगोलिक तथा प्राविधिक चुनौती पार गर्दै आयोजना सफलतापूर्वक सम्पन्न भएको हो।
कुल २ हजार ६८८ मिटर लामो सुरुङमार्गको निर्माण सम्झौता २०७६ कात्तिक २८ गते भएको थियो। सुरुमा २०८० वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, ठेकेदार कम्पनीको ढिलाइ र स्थानीय अवरोधका कारण निर्माण अवधि पटक–पटक थपिँदै अन्ततः सम्पन्न भएको हो।
सरकारले यसअघि नै राजपत्रमार्फत सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीले काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ। मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः रु १२५ र रु ८०, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि रु २६० र रु २००, तथा मल्टिएक्सल ट्रक र भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० शुल्क तोकिएको छ।
नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले काठमाडौँ–नौबिसे सडकखण्डको यात्रा समय घटाउने, ट्राफिक व्यवस्थापन सहज बनाउने तथा सुरक्षित र दिगो सडक यातायात प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।