बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

मंगलबार, बैशाख १५ २०८३

भद्रपुर (झापा) । मेची रंगशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

फाइनल खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसँगै एपीएफले नगद ११ लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आर्मीले पाँच लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ ।

एपीएफको जितमा निर्णायक गोल रश्मीकुमारी घिसिङले गरिन् । खेलको ७२औँ मिनेटमा कप्तान अनिता बस्नेतले दिएको पासलाई घिसिङले हेडमार्फत गोलमा परिणत गरेकी थिइन् ।

खेलको ‘प्लेयर अफ द म्याच’ एपीएफकी सरू लिम्बु घोषित भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी एपीएफकी रेनुका नगरकोटी घोषित भइन् । उनले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

त्यस्तै उत्कृष्ट गोलकिपर अञ्जना राना मगर (एपीएफ), उत्कृष्ट डिफेन्डर गीता राना (एपीएफ), उत्कृष्ट मिडफिल्डर दिपा शाही (आर्मी), उच्च गोलकर्ता रश्मीकुमारी घिसिङ (एपीएफ) तथा राइजिङ प्लेयर सबनम राई (चन्द्रगढी युवा क्लब) घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको लक्ष्मी रानीबाई स्पोर्ट्स एकेडेमी, एपीएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पद्मा स्पोर्ट्स क्लब सहभागी थिए ।