काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा नेपालले युएईलाई ३७ रनले हराएको हो।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमै सीमित भयो। युएईका लागि हरप्रीत सिंहले ३९ रन तथा कप्तान मोहम्मद वसीमले ३४ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालको जितमा करण केसी नायक बने। उनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिएर युएईको ब्याटिङ धराशायी बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २०० रनमा समेटिएको थियो। नेपालका लागि दीपेन्द्रसिंह एरीले सर्वाधिक ७५ रनको महत्वपूर्ण इनिङ्स खेले। उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरे।
नेपालको सुरुआत भने कमजोर रह्यो। आसिफ शेख ७ रनमै आउट हुँदा कप्तान रोहित पौडेल केवल २ रनमा पेभेलियन फर्किए। कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन तथा करण केसीले २२ रनको योगदान दिए। भीम सार्कीले १० रन बनाउँदा आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन जोडे।
युएईका लागि जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान ३/३ विकेट लिए।
अब नेपालले आगामी वैशाख १४ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ।