काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईसामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ७५ रनको योगदान दिए । दबाबमा परेको अवस्थामा उनले जिम्मेवार इनिङ्स खेल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।
त्यस्तै, कुशल भुर्तेलले २४ रन बनाए भने करण केसीले २२ रन जोडे । आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन बनाउँदा भीम सार्कीले १० रन जोडे । आसिफ शेख ७ तथा कप्तान रोहित पौडेल २ रनमा आउट भए ।
यूएईका लागि जुनैद सिद्धिकी र अजय कुमारले समान तीन–तीन विकेट लिए । खुजैमा तनवीरले दुई विकेट लिए भने हैदर अली र मुहम्मद शहदादले एक–एक विकेट हात पारे ।
अब यूएईले जितका लागि ५० ओभरमा २०१ रन बनाउनुपर्नेछ ।