काठमाडौं । बैंकहरूले २०८३ सालको वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। सार्वजनिक विवरणअनुसार औसत व्यक्तिगत निक्षेपमा ४.४१ प्रतिशत र संस्थागत निक्षेपमा ३.२३ प्रतिशत ब्याजदर कायम गरिएको छ।
चैत महिनामा भने औसत ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत थियो। यसअनुसार वैशाखमा ब्याजदर सामान्य रूपमा घटेको देखिएको छ।
बैंकहरू मध्ये ७ वटाले ब्याजदर घटाएका छन् भने १२ वटाले पुरानै दरलाई निरन्तरता दिएका छन्। कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ।
ब्याजदर घटाउने बैंकहरूमा एभरेष्ट बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंक रहेका छन्। यीमध्ये सबैभन्दा कम दर ४ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म कायम गरिएको छ।
त्यस्तै, केही बैंकहरूले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले ४.५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले ४.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यसैगरी एनएमबि बैंकले ५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर दिने भएका छन्।
ब्याजदर घट्ने क्रमले बैंकिङ क्षेत्रमा तरलता अवस्था र निक्षेप प्रतिस्पर्धामा परिवर्तन देखिएको विश्लेषण गरिएको छ।