दुई महिनामा आयात ३१.६ प्रतिशतले वृद्धि, निर्यात–आयात अनुपात १९.१ प्रतिशतमा
चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो दुई महिना अर्थात् भदौसम्म नेपालको वैदेशिक व्यापारमा निर्यात र आयात दुवै बढेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु निर्यात ६१।९ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यसैगरी, कुल वस्तु आयात ३१।६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको तुलनामा निर्यातको परिमाण निकै कम रहेकाले व्यापार घाटा बढेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २६ प्रतिशतले वृद्धि भई ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ८.६ प्रतिशतले मात्रै बढेको थियो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षमा निर्यात वृद्धिदर केही सुस्त देखिए पनि निर्यातको कुल रकममा वृद्धि भएको छ । गन्तव्य मुलुकका आधारमा समीक्षा अवधिमा भारततर्फको निर्यात ७०.६ प्रतिशतले बढेको छ । चीनतर्फको निर्यात १३७।६ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यात २२।७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक सिट तथा पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ । तर औषधि (आयुर्वेदिक), प्रशोधित छाला, दाल, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु र जडीबुटीलगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ । यसले समग्र निर्यातमा वृद्धि भए पनि सबै वस्तुको निर्यातमा समान सुधार हुन नसकेको देखाउँछ ।
समीक्षा अवधिमा भारतबाट हुने आयात २७।४ प्रतिशतले बढेको छ । चीनबाट हुने आयात १७.२ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट हुने आयात ५६।६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल, यातायात उपकरण, सवारीसाधन तथा तिनका स्पेयर पार्टपुर्जाको आयात बढेको छ । अर्कोतर्फ, सुन, धान तथा चामल, हवाईजहाजका स्पेयर पार्टपुर्जा, पोलिथिन ग्रान्युल्स तथा मेडिकलका सामान र पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।
यस अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३७ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात २७ अर्ब ७५ करोड रुपैयाँ बराबरको थियो ।
व्यापार घाटा बढे पनि कुल आयातको तुलनामा निर्यातको अनुपातमा सुधार आएको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १९।१ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात १५.५ प्रतिशत थियो । यद्यपि, आयातको तुलनामा निर्यातको हिस्सा अझै न्यून छ । यसले वैदेशिक व्यापारमा आयातमाथिको निर्भरता र व्यापार असन्तुलन कायम रहेको देखाउँछ । बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ७१.१ प्रतिशत रहेको छ। मध्यवर्ती वस्तुको हिस्सा २८.८ प्रतिशत र पुँजीगत वस्तुको हिस्सा ०।१ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.३ प्रतिशत, मध्यवर्ती वस्तुको २९।९ प्रतिशत र पुँजीगत वस्तुको ०।८ प्रतिशत थियो । यसले कुल निर्यातमा उपभोग्य वस्तुको हिस्सा बढेको तथा पुँजीगत वस्तुको हिस्सा घटेको देखाउँछ । यता, कुल आयातमा मध्यवर्ती वस्तुको हिस्सा सबैभन्दा बढी ५१।९ प्रतिशत रहेको छ । अन्तिम उपभोग्य वस्तुको हिस्सा ३९.४ प्रतिशत र पुँजीगत वस्तुको हिस्सा ८।७ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा आयातमा मध्यवर्ती वस्तुको हिस्सा ५४.३ प्रतिशत, अन्तिम उपभोग्य वस्तुको ३६.८ प्रतिशत र पुँजीगत वस्तुको ८।९ प्रतिशत थियो । यस अवधिमा आयातको संरचनामा मध्यवर्ती वस्तुको हिस्सा घटेको र अन्तिम उपभोग्य वस्तुको हिस्सा बढेको छ । २०८३ भदौ महिनाको भन्सार तथ्याङ्कमा आधारित वार्षिक विन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क ६.९ प्रतिशतले बढेको छ। सोही अवधिमा आयात मूल्य सूचकाङ्क भने १६.१ प्रतिशतले वृद्धि भएको छ । निर्यातको तुलनामा आयात मूल्य सूचकाङ्कमा उच्च वृद्धि हुँदा व्यापारको सर्त ७.९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
समग्रमा, आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको निर्यात र आयात दुवैमा वृद्धि भएको छ । तर आयातको कुल रकम निर्यातभन्दा धेरै उच्च रहेकाले व्यापार घाटा ३ खर्ब २४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । निर्यातको दायरा र वस्तुगत विविधता विस्तार गर्दै आयातसँगको अन्तर घटाउनु नेपालको वैदेशिक व्यापारका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ ।
