हुलाक सेवा विभागमा बुधबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गरे। उनले हुलाक सेवामार्फत सिमकार्डसमेत प्राप्त गरेका थिए।
सेवा शुभारम्भ गर्दै मन्त्री तिमल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जाल उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन दिए। उनले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्याउने प्रयास गर्नुपर्नेमा जोड दिँदै वितरणमा लाग्ने समय र सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवा सुधार गर्दै जानुपर्ने बताए।
हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिन लाग्ने डेलिभरीलाई केही घण्टाभित्रै सम्पन्न गर्न सक्ने व्यवस्था गरिने पनि उनले बताए। विशेषगरी सहरी क्षेत्रमा छिटो सेवा उपलब्ध गराउन सकिने उनको भनाइ थियो।
मन्त्री तिमल्सिनाले हुलाक सेवाको विद्यमान क्षमता र सीमालाई ध्यानमा राख्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न आग्रह गरे। सिमकार्ड वितरणमा लाग्ने समय र सेवाग्राहीको प्रतिक्रियाको मूल्याङ्कन गरी आवश्यक सुधार गर्नुपर्ने उनले बताए।
सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यले दूरसञ्चार सेवा नागरिकको पहुँचमा पुर्याउन सहज हुने विश्वास मन्त्री तिमल्सिनाले व्यक्त गरे। यसबाट नेपाल टेलिकमका ग्राहकले थप सुविधा पाउनुका साथै हुलाक सेवासमेत थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।