बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा १ खर्ब २५ अर्ब निक्षेप संकलन

शुक्रबार, चैत्र २७ २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बजारमा अझै अधिक तरलता कायम रहेकाले त्यसलाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको हो।

नयाँ सरकार बनेको दुई साता बित्न लाग्दा पनि कर्जा प्रवाह उल्लेख्य रूपमा बढ्न नसकेपछि बैंकिङ प्रणालीमा तरलता उच्च रहेको छ। आर्थिक गतिविधि शिथिल रहँदा तथा हालैका आन्दोलनका कारण कर्जा माग नबढेकाले बैंकहरूले निक्षेप वृद्धि गर्न खासै रुचि देखाएका छैनन्। यसका साथै उनीहरूले ब्याजदर घटाउँदै मुद्दती निक्षेपलाई समेत निरुत्साहित गरिरहेका छन्।

हाल कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा बढी पुगेको राष्ट्र बैंकले जनाएको छ। तरलता व्यवस्थापन तथा ब्याजदर सन्तुलन कायम गर्न केन्द्रीय बैंकले यसअघि पनि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत रकम खिच्दै आएको छ।

आजको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। बोलकबोल अनलाइन प्रणालीमार्फत हुनेछ र ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण गरिनेछ।

निक्षेप संकलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। यसअन्तर्गत उठाइएको रकमको साँवा र ब्याज २०८३ वैशाख २ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणकमा रकम प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ। खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले अधिकतम ६ महिनासम्मका लागि यस्ता उपकरण प्रयोग गर्न सक्ने प्रावधान रहेको छ।