बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनआईबीएलले गोर्खाजमा १५ करोड लगानी गर्ने

बिहिबार, चैत्र २६ २०८२

एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी गर्ने भएको छ । पार्टनर्स र लिमिटेडबीच त्यस्तो सम्झौता भएको हो ।

गोर्खाज हिमालयन हाइड्रो लिमिटेड सोलुखुम्बुस्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो ।

आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुनेछ । आयोजनाले ५.८७५ मेगावाटको सम्पूर्ण विद्युत बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता पीपीए गरिसकेको छ ।

उत्पादित विद्युतलाई ३३ केभी प्रशारण लाइनमार्फत तिङ्ला सबस्टेशनमा जोडिनेछ । एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले सो लगानी पोर्टफोलियोमा महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

‘यसले साना आकारमा जलविद्युत र स्वच्छ ऊर्जाका क्षेत्रमा लगानी गर्ने हाम्रो रणनीतिक लक्ष्यलाई फेरि एकपटक प्रष्ट पारेको छ । यस्ता आयोजनाले स्थानीय ऊर्जा सुरक्षा र आर्थिक विकासमा ठूलो टेवा पुर्याउनेछ,’ उनले भने ।

त्यस्तै, गोखार्ज हिमालयन हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले यो सहकार्यले दुर्गम क्षेत्रमा भरपर्दो विद्युत आपूर्ति बढाउनुका साथै दिगो र स्वच्छ ऊर्जातर्फको नेपाली सोचलाई साकार पार्न सहयोग पुग्ने बताए ।

आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्नसमेत भइसकेको छ । यो आयोजनाबाट सन् २०२७ अगष्टदेखि व्यावसायिक उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ ।