काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा रहेका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोड बराबरको विप्रेषण देशभित्र पठाएका छन्। नेपाल राष्ट्र बैंक का अनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले उल्लेखनीय वृद्धि भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण वृद्धि दर ९.५ प्रतिशत मात्र रहेको थियो। गत फागुन महिनामा मात्रै रु एक खर्ब ८८ अर्ब ६४ करोड विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको रु एक खर्ब ५१ अर्ब १९ करोडको तुलनामा उच्च हो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा यस्तो वृद्धि ७.१ प्रतिशत मात्रै थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) बढेर रु १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो रु ११ खर्ब ४९ अर्ब ३० करोड थियो।
वैदेशिक रोजगारीतर्फ, अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार ९८५ रहेको छ। अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो।
यसैबीच, चालु खाता रु पाँच खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु एक खर्ब ९७ अर्ब ३ करोड थियो। अमेरिकी डलरमा चालु खाता बचत बढेर तीन अर्ब ८८ करोड पुगेको छ।
फागुन मसान्तसम्म रु १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको छ, जुन अघिल्लो वर्षको रु आठ अर्ब ४७ करोडको तुलनामा वृद्धि हो।