काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा शंकास्पद वित्तीय कारोबारको दर अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। वित्तीय जानकारी इकाइले प्रतिवेदनमा यसलाई सकारात्मक संकेत नभएको र वित्तीय प्रणालीका लागि थप चुनौतीको रूपमा हेरिएको जनाएको छ।
प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ मा शंकास्पद कारोबार र गतिविधि रिपोर्ट ३०.३५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ७ हजार ३३८ रिपोर्ट भएका थिए भने यस वर्ष ९ हजार ५६५ रिपोर्ट प्राप्त भएका छन्। रकमका आधारमा शंकास्पद कारोबार ८२.७५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष शंकास्पद रकम २३ अर्ब २६ करोड २२ लाख रुपैयाँ रहेकामा गत वर्ष ४२ अर्ब ५१ करोड १९ लाख रुपैयाँ पुगेको छ।
शंकास्पद कारोबारका ९ सय ४५ रिपोर्ट नेपाल प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान र अभियोजनका लागि पठाइएको प्रतिवेदनमा उल्लेख छ।
वार्षिक प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी गतिविधि र हातहतियार निर्माणमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत तथा सञ्चालनगत प्रगति पनि समेटेको छ। इकाइले वर्षभर सूचनाको सुरक्षा, गोपनीयता, प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको र शंकास्पद कारोबार तथा सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गरेको छ।