नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामकृष्ण खतिवडा एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकद्वारा सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका खतिवडा वित्त, पूर्वाधार र व्यवस्थापनका अनुभवी विज्ञका रूपमा परिचित छन्।
चार्टर्ड फाइनान्सियल एनालिष्ट (CFA) तथा चार्टर्ड इकोनोमिस्ट (CHE) उपाधि हासिल गरेका खतिवडासँग पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक–निजी साझेदारी (PPP) लगायतका क्षेत्रमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव रहेको छ।
खतिवडाले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन्।
साथै, उनी विद्युत् नियमन आयोगका सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडका महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) का फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धकका रूपमा समेत कार्यरत थिए। त्यसैगरी, लगानी बोर्ड नेपाललगायत विभिन्न महत्वपूर्ण सार्वजनिक तथा निजी संस्थामा उच्च पदमा रहेर उनले काम गरेको अनुभव छ।