मुलुकका २० वाणिज्य बैंकमध्ये १९ ओटाले गत आर्थिक वर्ष २०७९/८० को लाभांश टुंगो लगाएका छन्। एनआईसी एशिया बैंकबाहेक बाँकी सबै वाणिज्य बैंकले लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका हुन्।
तर लाभांश टुंग्याएका बैंकहरूमध्ये ६ ओटाले भने यस वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय गरेका छन्।
धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंकसहित सूचीकृत कुमारी बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र हिमालयन बैंकले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।
यी बैंकहरूले पुस महिनाभित्रै वार्षिक साधारणसभा गर्ने मिति भने तय गरिसकेका छन्। यस वर्ष लाभांश नदिने निर्णय गरेका पाँच सूचीकृत बैंकले आव २०७८/७९ यता लगातार तीन आर्थिक वर्ष लगानीकर्तालाई लाभांश दिन सकेका छैनन्।
लाभांश वितरण गर्ने निर्णय गरेका १३ वाणिज्य बैंकमध्ये १० ओटाले वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन्। माछापुच्छ्रे बैंकले सबैभन्दा पहिले असोज १० गते साधारणसभा सम्पन्न गर्दै ४ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरिसकेको छ।
अब एनएमबि बैंकले पुस २४ गते, नबिल बैंकले पुस २८ गते र प्राइम कमर्सियल बैंकले पुस ३० गते वार्षिक साधारणसभा बोलाएका छन्।
एनएमबि बैंकले १० प्रतिशत, नबिल बैंकले १२.५० प्रतिशत र प्राइम कमर्सियल बैंकले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। प्राइम कमर्सियल बैंकको हकमा पुस २१ गते बुक क्लोज हुने भएकाले पुस २० गतेसम्म कायम शेयरधनीहरू लाभांशका लागि योग्य हुनेछन्।
यस वर्ष हालसम्मकै उच्च लाभांश एभरेष्ट बैंकले दिएको छ। बैंकले ६ प्रतिशत बोनस शेयर र करसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको हो। एभरेष्ट बैंकले अघिल्ला वर्षको तुलनामा यस वर्ष लाभांश वृद्धि गर्न सफल भएको छ।