बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपालमा भारतीय सयभन्दा ठूला नोट चलनचल्तीमा आउने बाटो खुल्यो

शुक्रबार, मंसिर १९ २०८२

काठमाडौँ । नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठूला दरका नोट पुनः चलनचल्तीमा ल्याउने अनुमति भारतीय रिजर्भ बैङ्क (आरबीआई) ले दिएको छ। सन् २०१६ मा भारतमा लागू भएको नोटबन्दीपछि नेपालमा १०० भन्दा माथिका भारतीय नोट रोकिएको थियो।

भारतले आफ्नो राजपत्रमा सूचना जारी गर्दै नेपाल र भुटानमा १०० भन्दा ठूला दरका भारतीय नोट प्रचलनमा ल्याउन सकिने व्यवस्था खुला गरेको हो। अब नेपाल–भारत आवतजावत गर्ने नेपाली तथा भारतीय नागरिकले २५ हजार भारतीय रुपैयाँसम्मका उच्च मूल्यका नोट ल्याउन-लैजान पाउनेछन्।

यस निर्णयपछि भारतबाट नेपाल आउने पर्यटक तथा भारतमा रहेका नेपालीले पनि २५ हजार भारुसम्म ठूला नोट साथमा ल्याउन सक्नेछन्। त्यस्तै, नेपालबाट अध्ययन, उपचार वा कामका सिलसिलामा भारत जानेहरूले पनि सोही सीमा भित्रका नोट लैजान पाउने व्यवस्था मिलेको छ।

भारतीय राजपत्रमा सूचना प्रकाशित भइसकेकाले अब नेपाल राष्ट्र बैङ्कले औपचारिक सूचना जारी गरेपछि मात्रै यसको कार्यान्वयन सुरु हुनेछ।