तीन महिनामा ६२ करोड रुपैंयाँ नाफा कमाउँदा तीन वटा खुद नोक्सानीमा
काठमाडौं । मुलुकको अर्थतन्त्र पुर्णरुपमा गतिशिल नबन्दा यसको नकारात्मक असर बिकास बैंकहरुको वासलात देखिएको छ । अर्थतन्त्र कमजोर भएकै कारण पछिल्लो समय बिकास बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात बढ्दै गएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढेपनि नयाँ कर्जाको माग हुन सकेको छैंन । जसले गर्दा नेपालको वित्तीय क्षेत्र बिगत लामो समयदेखि अधिक तरलताको समस्याबाट पिरोलिएको छ । अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले कर्जा लगानीलाई प्रोत्साहित गर्नुभन्दा पनि निक्षेप उपकरण खिच्ने प्रकृयालाई मात्र अघि सार्दा यसले मुलुकको वित्तीय क्षेत्र थप असन्तुलित बन्दै गएको छ । राष्ट्र बैंकले अल्पकालीन तथा दिर्घकालीन प्रकृतिका बिभिन्न किसिमका मौद्रिक उपकरण जारी गरेर अधिक तरलता नियन्त्रणमा राख्न खोज्दा यसको असर अहिले व्याज दरमा परिरहेको छ । यि सबै कारणहरुले गर्दा अहिले बजारमा कर्जाको माग बढ्न सकेको छैन।
कर्जाको माग नबढेको अवस्थामा बिकास बैंकहरुले पुरानो कर्जाबाट पनि नियमितरुपमा सावाँ र व्याज असुल गर्न सकेका छैंनन । यसले गर्दा पछिल्लो समय बिकास बैंकहरुमा गैरबैंकिङ सम्पती एवं निष्क्रिय कर्जा दुबै बढेको छ । यि सबैको असर अहिले बिकास बैंकहरुको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणमा देखिएको छ । वित्तीय विवरण अनुसार बिकास बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ६२ करोड ६५ लाख २० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरु हालसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १२ वटा बिकास बैंकहरुले यो मुनाफा कमाएका हुन।
चालु आवको पहिलो त्रैमासमा कामना सेवा बिकास बैंकले १९ करोड ७५४ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा मितेरी डेभलपमेन्ट बैंकले भने दुई करोड ५२ लाख २३ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । साँग्रिला डेभलपमेन्ट बैंकले भने चालु आवको पहिलो त्रैमासमा आठ करोड ८२ लाख ११ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा लुम्बिनी बिकास बैंकले ३४ करोड ८५ लाख ७७ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । यसैगरी सिन्धु बिकास बैंकले पनि पछिल्लो अवधिमा चार करोड ४५ लाख ९७ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ। मुक्तिनाथ बिकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा २२ करोड ४७ लाख ७४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा ग्रिन डेभलपमेन्ट बैंकले भने तीन करोड एक लाख ५६ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा गरिमा, महालक्ष्मी र कर्पोरेट डेभलपमेन्ट बैंकले भने क्रमशः २५ करोड नौं लाख ७५ हजार, नौं करोड ७५ लाख १२ हजार र २९ लाख १४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । शाईन रेसुंगा र ज्योति बिकास बैंकले पनि यस अवधिमा क्रमशः २० करोड ३० लाख ४१ हजार र सात करोड तीन लाख ३४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यि बाहेक बाँकी बिकास बैंकहरुको भने वित्तीय विवरण प्रकाशन हुन बाँकी रहेको छ।
