बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा: ब्याजदर घट्यो, कर्जा सीमा वृद्धि

सोमबार, मंसिर १५ २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो नीति अवलम्बन गरेको छ। समीक्षा अनुसार ब्याजदर करिडोर घटाइएको र व्यक्तिगत तथा लघुवित्त कर्जा सीमाहरू बढाइएको छ।

ब्याजदर करिडोरमा स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट ४.२५ प्रतिशत कायम गरिएको छ। स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत यथावत राखिएको छ। अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्था पनि कायम गरिएको छ।

समीक्षामा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत अधिविकर्ष कर्जा सीमा ५० लाखबाट १ करोडमा वृद्धि गरिएको छ। लघुवित्त संस्थाबाट धितोमा प्रवाह हुने कर्जा सीमा ७ लाखबाट बढाएर १५ लाख राखिएको छ। साथै, ऋणीहरूको कर्जा भुक्तानी समस्यामा परेको खण्डमा कर्जा भुक्तानी तालिका परिमार्जन गर्ने व्यवस्था मिलाइएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित उद्यम/व्यवसायका लागि न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनरसंरचना गर्ने व्यवस्था समेत राखिएको छ।

राष्ट्र बैंकको समीक्षा प्रतिवेदनमा उल्लेख छ, “जेन–जी आन्दोलनपश्चात बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेको प्रयास र बैंकले अवलम्बन गरेको मौद्रिक सहजताबाट अर्थतन्त्र क्रमशः सुदृढ हुँदै जानेछ।” अन्तर्राष्ट्रिय साख रेटिङ एजेन्सी फिचले नेपाललाई गत वर्षकै बीबी– रेटिङ कायम गरेको छ।

पर्यटन क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको छ। जेन–जी आन्दोलनका क्रममा केही होटलमा क्षति भए पनि शान्ति सुरक्षामा पर्यटक आश्वस्त देखिएको र सन् २०२५ को दस महिनामा करिब ९ लाख ४४ हजार वाह्य पर्यटक भित्रिएको छ।

जलविद्युत उत्पादनमा प्रगति भई आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा ३०९.२ मेगावाट थपिएको छ। सरकारले चालु खर्च नियन्त्रण गर्दै प्राथमिक आयोजनाहरूको कार्यान्वयनमा जोड दिएकोले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ।